प्राङ्गारिक निरीक्षकको तालिम

सबैभन्दा ठूलो कुरा ज्ञान हो। ज्ञानको बिस्तार हो। माटोसँग जोडिनु भाग्य हो। हाम्रा वैदिक शास्त्रका अनुसार कृषि ‘ब्रह्म ज्ञान’ हो र कृषकहरू राष्ट्रपिता हुन्। जस्तो चेतना उस्तै अन्न। जस्तो अन्न उस्तै मन। हामीले प्रकृतिलाई जसरी व्यवहार गर्छौँ, प्रकृतिले हामीलाई त्यसरी नै साथ दिन्छिन्। जन्मेर हुर्केको धरतीलाई कमसेकम नबिगारिकनै नयाँ पुस्तालाई हस्तान्तरण गरौँ। प्राङ्गारिक खेतीको मुल मन्त्र नै यही हो।

प्राङ्गारिक खेतीका बारे केही सामान्य लाग्ने तर गहन कुरा मनन हुन जरुरी छ। पहिलो, यो अभियान हो। दोस्रो, यो खेती गर्ने अनुसाशन हो। तेस्रो, प्राङ्गारिक र प्रमाणित प्राङ्गारिक फरक कुरा हुन्। प्राङ्गारिक हो भनेर बेच्न पाइयो। तर के को आधारमा भनेको हो, उपभोक्ताले थाहा पाउनुपर्छ। ‘स्वयं-घोषणा’को विश्वासनिय आधार नखुलाई बेच्नु पनि न्यायसङ्गत नहुन सक्छ

प्राङ्गारिक हो भनेर विश्वास दिलाउने आधार दुईटा छन्। पहिलो, सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली। दोस्रो, थर्ड-पार्टी भेरिफिकेसन्। यी दुवै विधिका ‘प्रोज एण्ड कन्स’ छन्।

राज्यका निकायहरूमा प्रायः प्राङ्गारिक खेतीलाई ‘फिलोसोफी’मै सिमित गर्नेहरूको संख्या कमी छैन। ‘कुरो त ठीकै हो तर सम्भव नै छैन’ भन्ने मानसिकता रहिन्जेल परिवर्तन सम्भव छैन। आजका दिनमा विश्वविद्यालयबाट ग्राजुएट पुस्ता ‘प्राङ्गारिक चाहिएको हो की उत्पादन चाहिएको हो’ भनेर सोध्छन्। यसका बारे पनि छुट्टै बहस हुन सक्ला।

सबैभन्दा महत्वपूर्ण भनेको दक्ष जनशक्ति हो। प्राङ्गारिक र प्रमाणिकरणका बारे जान्ने, बुझ्ने र ज्ञान तथा प्रविधि हस्तान्तरण गर्न सक्ने जनशक्तिको अभाव आजको टड्कारो समस्या हो।

यसै परिप्रेक्षमा प्राङ्गारिक खेती तथा प्रमाणिकरण कार्यका लागि दक्ष जनशक्ति तयार गर्न योगदान पुगोस् भन्ने हेतुले नेप.सर्टले विगत केही वर्षदेखिको आफ्नै अनुभव र भोलिको बजार सम्भावनाको सन्दर्भमा प्राङ्गारिक निरीक्षकको पाँच दिने तालिम कार्यक्रम आयोजना सम्पन्न गरेको छ। कृषि क्षेत्रसँग सरोकार राख्ने, रुची राख्ने, काम गर्ने रुचाउने सबैलाई उपयोगी यस तालिममा २१ जना सहभागी भए। IOIA को कोर्स आउटलाईन अनुसार नेप.सर्टले स्थानीय आवश्यकता अनुसार परिमार्जन गरी सो अनुसार सम्बन्धित बिषयको प्रचुर सैद्धान्तिक र व्यवहारिक ज्ञान हस्तान्तरण गर्ने प्रयास रह्यो।

मनन गर्नै पर्ने दुई कुरा छन्। यो स-शुल्क तालिम थियो। तालिमका लागि लाग्ने खर्च सहभागीबाटै सङ्कलन गरियो। अर्को तालिमपछि आयोजकले नै रोजगारीको ग्यारेन्टी गर्न त सक्दैन तर प्राङ्गारिक प्रमाणिकरणका प्रकृयाको बिस्तार प्राङ्गारिक प्रमाणिकरणका प्रकृया हुँदै जाँदा प्राङ्गारिक प्रमाणिकरण गर्ने निकाय सक्रिय हुने र दक्ष निरीक्षकहरू आवद्ध हुने अवसर पाउँछन्। (Updated: 20th Aug, 2026)

यसका बारे थप जानकारी चाहिएः

भूपेन्द्र नीराजन (9851050421)

(नेप.सर्टको वेवपेज अपडेट हुने क्रममा छ।  धेरै सूचना र जानकारी राख्दै जानेछौँ।)

प्राङ्गारिक प्रमाणीकरण तथा बजार

प्राङ्गारिक प्रमाणीकरण तथा बजार

प्राङ्गारिक खेती र चुनौती

विषादी नहाल्दैमा र रासायनिक मल नहाल्दैमा ‘प्राङ्गारिक’ हुन्छ भन्ने निश्चित हुँदैन तर यी दुई कुरा प्राङ्गारिक खेतीका लागि प्रमुख कारकचाहिँ हुन् । प्राङ्गारिक खेती विशुद्ध खेती गर्ने अनुशासन हो र यो एउटा अभियान हो । यस अभियानले माटोको प्रकृति, पर्यावरण र हरेक जीवको स्वास्थ्य र सुरक्षालाई ख्याल गरेर खेती गर्न प्रोत्साहन गर्छ । लामो समयसम्म रासायनिक मल र विषादी प्रयोग गर्दै आएको जमिनमा एकै पटक प्राङ्गारिक अभ्यास गर्दा सुरुका दिनमा उत्पादनका हिसाबले चुनौती हुन सक्छ तर प्राङ्गारिक खेती विधिले उत्पादन घटाउँछ भन्ने कुरा सत्य होइन। यसलाई पुष्टि गर्ने अनुसन्धानका प्रतिवेदनहरू पढ्न पाइन्छ।

मृतप्रायः माटोलाई प्राण दिन समय त लाग्छ नै । माटो जीवन्त नबनुन्जेल अवधिमा उत्पादन घटबढ हुनु स्वाभाविक हो । माटोको स्वास्थ्य सुधार गर्न र किसान आफैमा पनि प्राङ्गारिक विधिमा अभ्यस्त हुन केही समय लाग्छ । मुख्य कुरा के हो भने प्राङ्गारिक खेतीको सुरुवात पनि नगरी विकल्प छैन र कृषकको सुरक्षाको सुनिश्चितता पनि हुनुपर्छ । यो परिस्थितिलाई कृषक र उपभोक्ता दुवैको अनुकूल हुने गरी क्रमशः सुधार गर्दै लैजानु उपयुक्त हुन्छ ।

प्राङ्गारिक प्रमाणीकरण

उपभोक्ताले प्राङ्गारिक हो भनेर पत्याएनन् भने उचित मूल्य तिर्न तयार हुँदैनन् । यसैका लागि प्राङ्गारिक प्रमाणीकरण गर्ने हो । उपभोक्तालाई गुणस्तरको सुनिश्चित गर्न। प्रमाणीकरण सामान्यतया दुई तरिकाले गरिन्छ । सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली र प्रमाणीकरण गर्ने संस्था मार्फत ।

सहभागितामूलक गुणस्तर निर्धारण प्रणालीमा कृषक, प्रशोधक, उपभोक्ता, स्थानीय सरकार, सम्बन्धित क्षेत्रका प्रतिनिधि आदि सबै सरोकारवाला पक्षहरूको प्रतिनिधित्व हुने गरी आफू अनुकुलको नीति, नियम, शर्त र मापदण्ड, संरचना आदि तयार गरेर उत्पादनको प्रमाणीकरण गरिन्छ । यसका प्रस्ट विधि र तरिका छन्। सरोकारवालाहरूको सहभागितामा गरिने हुनाले यो सजिलो र कम खर्चिलो हुन्छ । प्रमाणीकरण मान्यताप्राप्त स्वतन्त्र र निश्पक्ष संस्था (Certification Body) मार्फत पनि गरिन्छ जसलाई थर्ड-पार्टी-सर्टिफिकेसन (Third-party Certification) भनिन्छ । यस्ता संस्थाहरू स्थानीय वा अन्तर्राष्ट्रिय हुन सक्छन् ।

यी दुई विधिमा खासगरी लागत, पहुँच, विश्वास र कानुनी मान्यतामा भिन्नता हुन्छ। सहभागितामूलक प्रमाणीकरण प्रायः स्थानीय बजारका लागि केन्द्रित हुन्छ। थर्ड-पार्टी-सर्टिफिकेसन अन्तर्राष्ट्रिय मापदण्डसँग नबाझिने गरी तयार भएको राष्ट्रिय मापदण्ड अनुसार, मान्यताप्राप्त निरीक्षकद्वारा निरीक्षण र कृषकले राखेको रेकर्डका आधारित हुन्छ। यो पुरै कानुनी मान्यताप्राप्त प्रक्रिया हो । यस्ता संस्थाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी मान्यता प्राप्त गरेका हुन्छन्। सबैले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका नहुन पनि सक्छन्।

प्रमाणीकरण किन गर्ने

प्रमाणीकरण उपभोक्ताका लागि गुणस्तरको सुनिश्चित गर्ने एउटा औजार हो भने उत्पादकका लागि प्राङ्गारिक गरे बापतको अतिरिक्त मूल्यसहित सजिलै बजार पाउने अवसर। यस कारण बजार र बजार मूल्यसँग प्रत्यक्ष सरोकार राख्दछ। कृषकले प्राङ्गारिक प्रमाणीकरण गरेपछि उचित मूल्य सहित बजार सुनिश्चित हुन्छ भने मात्रै प्रमाणीकरण गर्नुपर्छ।

प्रक्रिया

प्राङ्गारिक प्रमाणीकरण गर्ने प्रक्रिया गाह्रो त होइन तर सुरुको वर्ष कृषकका लागि झन्झटिलो लाग्न सक्छ । थर्ड-पार्टी-सर्टिफिकेसन त खर्चिलो पनि । यसका लागि मान्यताप्राप्त स्थानीय संस्था छन् । अन्तर्राष्ट्रिय संस्थाहरू पनि सक्रिय छन्। कृषक एक्लै वा कृषक-समूह बनाएर समूहको प्रमाणीकरण गर्न सकिन्छ । समूहले प्रमाणीकरण गर्ने हो भने सबै कृषकहरूले एउटै मापदण्ड अनुसार खेती गर्नु पर्छ। यसको अनुगमन आदिका लागि आन्तरिक नियन्त्रण प्रणाली (Internal Control System) बनाइन्छ।

प्रमाणीकरण प्रक्रिया

विभिन्न चरणहरूमा सम्पन्न हुन्छ। जस्तै, आवेदकले प्राङ्गारिक व्यवस्थापन योजना निर्माण, प्रमाणीकरण गर्ने संस्थामा सम्पर्क, प्राङ्गारिक निरीक्षद्वारा निरीक्षण, निरीक्षण प्रतिवेदन, निर्णय, गुनासोको अवसर, आदि। पुरै प्रक्रियाका लागि अन्तर्राष्ट्रिय स्तरको (सबै देशहरूले मान्ने) एउटा मापदण्ड छ । हरेक देशले आफ्नै मापदण्ड बनाउँछन्। प्रमाणीकरण गर्ने संस्थाहरूले (कम्पनी) पनि आफ्नै मापदण्ड, निर्देशिका, निवेदन दिने फर्म्याट, प्रक्रिया आदि बनाएका हुन्छन्।

प्रमाणीकरण गर्ने आधार

प्राङ्गारिक विधी खेती गर्ने अनुशासन हो र प्रमाणीकरणले विधिपूर्वक यसैको निरीक्षण गर्छ। एउटा उदाहरण हेरौँ। युरोपको कुनै प्रमाणीकरण गर्ने निकायले, अमेरिकी उपभोक्ताका लागि नेपालको किसानका उत्पादनहरू प्रमाणित गर्छ । यसको मतलब, प्रमाण बोल्छ । प्राङ्गारिक निरीक्षकले अनुगमन गर्दा खेतबारीको अवलोकन मात्र होइन, कृषकले सङ्ग्रह गरेर राखेका प्रमाणहरू पनि हेर्छन् ।

खासगरी खेती गरेका जमिनको न्यूनतम गत तीन वर्षदेखिको इतिहास, मल बनाएको विधि वा मलको स्रोत, बिउ, बेर्नाको स्रोत, पानीको स्रोत, फसल सङ्कलन, भण्डारण, प्रशोधन, प्रयोग गरेका औजार, ढुवानीमा प्रयोग भएको साधन, छिमेकी प्लटहरू आदि सबै कुराको स-प्रमाण अभिलेख राख्नुपर्छ। सबै क्रियाकलापको रेकर्ड राखिएको कृषक डायरी हुनुपर्छ। माटोको स्वास्थ्य र उर्वरता, झारपात नियन्त्रण, रोग तथा किराको नियन्त्रण आदिको रेकर्ड दुरुस्त हुनुपर्छ। ज्याला दिएको, सामान किनेका, भाडा तिरेका, बिउ बिजन किनेका, उत्पादन र बिक्री गरेका रसिद र बिलहरू सङ्ग्रह गरेर राख्नु पर्छ। यस्ता सामाग्रीहरू प्रमाणीकरणका लागि प्रमाण हुन् । प्रमाणीकरण गर्ने एकल निवेदक होस् वा समूह – प्राङ्गारिक व्यवस्थापन योजना (Organic Management Plan) बनाउनुपर्छ जसमा माथि उल्लेखित कार्यहरू कसरी व्यवस्थापन हुन्छ भनेर प्रस्ट बुझिने भाषामा उल्लेख गरेको हुनुपर्छ र लागू भएको हुनुपर्छ। उत्पादन, प्रशोधन, प्याकेजिङ्ग र बजारीकरणका सबै चरणहरू प्राङ्गारिक प्रमाणित हुन्छन् र हुनुपर्छ। यो सबै एउटै व्यक्ति वा कम्पनीले पनि गर्न सक्छ वा फरक-फरक पनि सक्छन्।

ख्याल राख्नुपर्ने महत्त्वपूर्ण कुरा

प्राङ्गारिक उत्पादन तथा प्रशोधनका लागि प्रमाणीकरण गर्ने प्रक्रिया सुरु गर्नु पहिले कृषकले लगानी, उत्पादन, प्रशोधन, परिमाण, बजार र मूल्य जस्ता कुरामा ध्यान दिनुपर्छ । प्रमाणीकरण गर्दा बजार बिस्तार सुनिश्चित हुने र उचित मूल्य पाइने हो भने मात्रै खर्च गर्नु लाभकारी हुन्छ । सामान्यतया पहिलो र दोस्रो वर्ष प्राङ्गारिक रूपान्तरणका वर्ष हुन् भने पूर्ण रूपमा प्रमाणित तेस्रो वर्ष मात्र हुन्छ । पहिलो वर्षमै पनि सम्भव हुन्छ तर जमिनको इतिहास र निवेदकले पेस गरेका प्रमाणहरू, प्रमाणीकरण गर्ने निकायको मापदण्डमा भर पर्छ। अर्को कुरा, यो एक पटक सम्पन्न गरेर पुग्ने प्रक्रिया होइन । निरन्तर हरेक वर्ष प्रमाणीकरण नवीकरण हुनुपर्छ र यसका लागि हरेक वर्ष खर्च हुन्छ।

बजार

कोभिड-पेन्डेमिकका बेला विश्वभरका लगभग सबै क्षेत्रका उद्योगधन्दा ध्वस्त भएका थिए तर कृषिको क्षेत्रका उद्योगको आम्दानी ह्वात्तै बढेको थियो । पेन्डेमिककै बेला प्राङ्गारिक बजारमा प्राङ्गारिक उत्पादनको माग लगभग १२% ले वृद्धि भएको थियो । प्राङ्गारिक उत्पादकहरू ७.६%ले बढेका थिए। भारतमा मात्रै प्रमाणीकरण गरिएका प्राङ्गारिक उत्पादक १६ लाखभन्दा बढी छन् । विश्वभर ७.५ करोड हेक्टर जमिन प्राङ्गारिक प्रमाणीकरण छ जुन पेन्डेमिकका बेला ४.१% वृद्धि भएको थियो । हरेक वर्ष १३% देखि १४%ले बजार बढ्ने प्रक्षेपण गरिएको छ । यसले के दर्साउँछ भने कृषिको विकल्प कृषि नै हो । कृषिको बजार घट्दैन । समय अनुकूलका प्रविधि र परम्परागत ज्ञान र अनुभवको अभ्यासले कृषिलाई अझै दिगो, स्वच्छ, आम्दानीमूलक र वातावरण संरक्षणको लागि एक अचुक माध्यम बन्न सक्छ । प्राङ्गारिक उत्पादनका लागि विश्वकै ठुलो बजार अमेरिका हो । सबैभन्दा धेरै जमिन प्रमाणीकरण गर्ने अस्ट्रेलिया हो । नेपालको सन्दर्भमा लगभग १२ हजार हेक्टर जमिन प्रमाणीकरण भएको देखिन्छ ।

अन्तमा,

प्राङ्गारिक खेती सधैँ सफल नहुन पनि सक्छ। अधिकांश प्राङ्गारिक खेती असफल हुनुको कारण प्राङ्गारिक खेती गलत भएको कारणले होइन । बुझाई र अभ्यासमा हुने कमजोरीले हो । हानिकारक रासायनिक पदार्थ त्यागेर प्राङ्गारिक मल हाल्नु मात्र प्राङ्गारिक खेती होइन । प्राङ्गारिक खेतीमा कमसेकम थप चार कुरा- माटोको स्वास्थ्य र जीवन्तता, पानी सङ्कलन, बाली विविधता र आम्दानीका स्रोतको विविधता सुनिश्चित हुनुपर्छ । नाफा बढाउने बाध्यता वा रहरमा एकल बाली खेती गर्नु (Monocrop) प्राङ्गारिक खेतीका लागि सबै भन्दा ठुलो कमजोरी मानिन्छ। प्रकृतिले कहिल्यै एउटै बाली मात्र उमार्दैन। आर्थिक वर्ष २०८३\८४ का योजना तथा बजेटको समय छ। कृषिको बजेटको दुरुपयोग भएका समाचार प्रशस्तै सुन्न पाइन्छ। अर्कोतिर कृषकले सुविधा नपाएको गुनासो। यो वर्ष हरेक गाउँ वा नगरपालिकामा प्राङ्गारिक खेती र प्रमाणीकरणका प्रवर्द्धन र प्रोत्साहन गर्ने गरी कार्यक्रम निर्माणमा बेलैमा ध्यान पुगोस्। (By Bhupendra Nirajan/ 9851050421)

******

वैदिक कृषिमा ज्ञानको स्रोत र अभ्यास

वैदिक कृषिमा ज्ञानको स्रोत र अभ्यास

जब अन्न, मन र आयुको अर्थ बुझिन्छ, माटोको गन्ध झन् सुगन्धित लाग्न थाल्छ र कृषि पेसा धर्म बन्न पुग्छ । कृषक मातापिता लाग्छन् । कृषकका दुःख आफ्नैजस्तो महसुस हुन्छ । खानुको विकल्प छैन । यसकारण, कृषिको पनि विकल्प छैन । जुन देशमा कृषक पीडित हुन्छन् वा कृषकले असल कर्म छोड्छन्, त्यो देशका नागरिक सुखी र देश शान्त हुनै सक्दैन । फेरि पनि, कृषि नै सबथोकको समाधान त होइन । तर, देशको समग्र विकास र समृद्धिको मेरुदण्डचाहिँ अवश्य नै कृषि हो ।

धरतीमा मानिस र जीवजन्तुका जनसंख्या निरन्तर बढ्छ, तर उब्जने जमिन सीमित छ र समयक्रममा यो घट्दै जान्छ । जनसंख्याको चाप र औद्योगिकीकरणका कारण उब्जनीयोग्य जमिन र जंगल दुवै मासिँदो स्थितिमा छन् । हामीलाई थोरै जमिनमा थोरै खर्चले धेरै उत्पादन गरेर टन्नै कमाउनु छ । रासायनिक खेती प्रणाली यसैको उपज हो । नाफाकेन्द्रित कृषि प्रणालीका रूपमा विकसित भएको प्रणाली । उच्च आर्थिक लाभको अपेक्षा हुने भएकाले आधुनिक प्रविधि, हाइब्रिड (ठिमाहा) बिउ, कृत्रिम रासायनिक मल, हानिकारक कीटनाशक र झार–नाशकमा निर्भर हुँदै गएको छ हाम्रो कृषिकर्म । रासायनिक कृषिको लक्ष्य भनेकै उत्पादन लागत घटाउने र उपज बढाउने मात्र हो । धेरै अध्ययनले यसप्रकारका रासायनिक प्रयोगले स्वास्थ्यमा गम्भीर जोखिम र वातावरणीय विनाश गर्ने दुष्परिणाम देखाएका छन् । प्रांगारिक खेतीप्रति आकर्षण बढ्दै जानुको मुख्य कारण पनि यही हो । उत्पादन, खाद्य सुरक्षा र भोकमरीको समाधानका लागि रासायनिक खेती मात्रै विकल्प हो भनी बहस गर्नेहरूको पनि संख्या कम छैन । तर, प्रांगारिक खेतीमा आबद्ध उत्पादक तथा प्रशोधनकर्ता भने यो तर्क स्विकार्न बिल्कुलै तयार छैनन् ।

प्रांगारिक खेती
प्रांगारिक खेती प्रणालीमा बिउ रोपिएको दिनदेखि उपभोगका लागि तयार उत्पादन भान्सामा पुग्दासम्म खाद्य वस्तु अशुद्ध वा मिसावट नहोस् भनेर प्रयत्न गरिन्छ । यस विधिले जीवजन्तु, वातावरण र स्थानीय स्रोतको दिगो प्रयोग र संरक्षणमा जोड दिन्छ । माटो तथा वातावरणलाई प्रदूषण हुनबाट जोगाउँछ । जैविकता र पर्यावरणको सम्मान गर्छ । परम्परागत ज्ञान तथा स्थानीय स्रोतको समावेशितामा जोड दिन्छ । स्थानीय स्रोत र साधनको दिगो उपयोगबाट माटोको स्वास्थ्य, उत्पादकत्व, रोग, किरा तथा झारपात नियन्त्रण गरिन्छ । समग्रमा कुनै नकारात्मक पक्ष छैन । यो कृषि प्रणालीले आजको मात्र नभई भोलिको पनि सोच गर्छ ।

वैदिक विधि 
वैदिक खेती पनि प्रांगारिक खेती नै हो, तर यसमा प्रांगारिक विधिका सबै अभ्यासका अतिरिक्त वैदिक परम्पराअनुसारका थप केही प्रविधिको पनि प्रयोग गरिन्छ । वैदिक खेतीका नाममा पनि खासगरी नेपाल र भारतमा विभिन्न प्रकारका खेती विधि अभ्यासमा रहेका छन् । उदाहरणका लागि, बायोडायनामिक खेती (ग्रहनक्षत्रसँग समायोजनमा आधारित), मन्त्रमा आधारित खेती (ध्वनि कम्पनद्वारा बाली वृद्धि गरिने), पञ्चगव्य र वनस्पतिको तयारी (प्राकृतिक मल/कीटनाशक), यज्ञ (मन्त्रद्वारा वातावरण शुद्धीकरण), होम खेती (मन्त्रसहित अग्निको प्रयोग गरिने), ऋषि–कृषि (वैज्ञानिक ऊर्जालाई मलका रूपमा प्रयोग गरिने), महर्षि वैदिक कृषि (चेतनामा आधारित कृषि) आदि । कतिपय अभ्यासमा एकभन्दा बढी विधिको संयोजन गरेर प्रयोग गरिन्छ । यी सबै विधिका आ–आफ्नै खालका विशेषता छन् । महर्षि वैदिक कृषि यी सबैभन्दा अलिक भिन्न छ ।

ज्ञानको स्रोत
वैदिक कृषिबारे बोल्ने थुप्रै प्रकाशित ग्रन्थ उपलब्ध छन् । हजारौँ वर्ष पहिले नै रचिएका हाम्रा वैदिक ग्रन्थमा खेती प्रणालीबारे भरपुर ज्ञान लुकेका छन् । यस्ता ग्रन्थहरूमा प्राविधिक ज्ञानका अतिरिक्त ब्रह्माण्डीय ऊर्जा र परिश्रमको गहिरो सम्बन्ध र सन्तुलनबारे उल्लेख छ । यसलाई आजको भाषामा भन्नुपर्दा दिगो कृषिको अवधारणा भने हुन्छ । प्रायजसो प्राचीन ग्रन्थहरूमा कृषि, पशुपालन, जनावर, वनस्पति र पर्यावरणबारे चर्चा छ । विज्ञानका दृष्टिकोणमा प्रमाणित हुन बाँकी होलान् । तर, अहिले पनि अभ्यासमा भने छन् । यसबारे वैज्ञानिक अनुसन्धान पनि नभएका होइनन् । भएका छन् । भलै अनुसन्धानमा महत्वपूर्ण मानिने नमुना तथा तथ्यांक संकलन र अध्ययन विधिबारे विमति राख्ने ठाउँ हुन सक्छन् ।

वैदिक शास्त्रहरूमा कृषक र कृषिकर्मलाई उच्च र महत्वपूर्ण स्थान दिइएको छ । खासगरी ऋग्वेद, अथर्ववेद, कृषि पराशर, महाभारत, कश्यपीय कृषिजस्ता ग्रन्थले कृषि र कृषकको महत्व, भूमिका, राज्यको दायित्व, कृषकका लागि सरकारको जिम्मेवारी आदिबारे रोचक व्याख्या गरेका छन् । यी सबै ग्रन्थमा कृषिलाई पेसाभन्दा धर्म र कृषकलाई व्यवसायीभन्दा प्राणरक्षक, कामदारभन्दा समाजका विज्ञका रूपमा चित्रित गरिएको छ । कृषकलाई सम्पूर्ण सृष्टिको पालनपोषण गर्ने अन्नदाता वा प्रजापतिका रूपमा सम्मान गरिएको छ । सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेदमा कृषकलाई कर्मयोगीका रूपमा चित्रण गरिएको छ । अथर्ववेदमा कृषकलाई भूमिपुत्र मानिएको छ । महाभारतको शान्ति पर्वका अनुसार राजा पृथुले भूमिलाई सम्याएर खेतीयोग्य बनाएका थिए । यसकारण उनलाई पहिलो कृषक र उनकै नामबाट पृथ्वीको नाम रहेको मानिन्छ । तैत्तिरियोपनिषद् नामको उपनिषद्का अनुसार कृषक एक व्रत (संकल्प) लिने तपस्वी हुन् ।

वैदिक प्रविधि
वैदिक कृषिका अनुसार उच्च चेतनाको सुनिश्चितताका लागि नियमित ध्यान, सम्भावित चुनौतीको न्यूनीकरणका लागि मुहूर्त, प्रकृतिको भरपुर समर्थनका लागि वास्तुअनुसारका घर र बालीको वृद्धिसँगै कृषि यज्ञ, यी चार वैदिक अभ्यासले कृषि कर्म, उत्पादन र गुणस्तरमा प्रभाव पर्छ । कृषकको पिर, चिन्ता तथा पीडारहित मन, मस्तिष्क र बुध्दिको उन्नत प्रभावले बालिनालीसमेत सकारात्मक, पोषणयुक्त, शक्तिवर्द्धकका रूपमा वृद्धि हुन्छन् । यसकारण नियमित ध्यान आवश्यक मानिन्छ । कृषिकर्म गर्दा पञ्चांग पात्रोअनुसार साइत हेरेर गर्ने हाम्रो सनातन परम्परा नै हो । हलगोरुले जोत्दा, बिउ राख्दा, दाइँ हाल्दा, नयाँ बाली भित्र्याउँदा, भकारीबाट अन्न झिक्दा आदि कर्ममा पात्रोअनुसार शुभ मुहूर्त हेरेर मात्रै कार्य गर्ने चलन अहिले पनि छ । वैदिक दृष्टिकोणमा प्रत्येक क्रियाको फल केवल कर्ममा मात्र होइन, कालमा पनि निर्भर हुन्छ । जस्तो उचित मुहूर्तमा बिउ रोप्दा बिउ उम्रने र हुर्कने प्रक्रियाले प्राकृतिक समर्थन प्राप्त गर्छ र फलस्वरूप, अंकुरण, वृद्धि, उत्पादन र पोषणतत्वसमेतमा सकारात्मक प्रभाव पर्छ । यसकारण तिथि, वार, नक्षत्र, योग, करण र ग्रहहरूको चाललाई ध्यानमा राखेर मुहूर्तको निर्धारण गरिन्छ । कृषि चेतनशील प्रक्रिया भएकाले प्रकृतिको लयसँग तालमेल मिलाएर काम गर्दा, माटो, बिउ र जल सबैले सहयोग गर्छन् । वर्षा, तापक्रम र माटोको ऊर्जा प्रवाहसँग समन्वय गर्न मद्दत गर्छ । सम्भावित बाधाहरूलाई टार्न सहयोग पुर्‍याउँछ । 

स्थापत्य वेद (वास्तु)का अनुसार पृथ्वीमा प्राकृतिक नियमको सबैभन्दा बलियो प्रभाव सूर्यबाट आउँछ । पूर्वदेखि पश्चिमसम्मको आफ्नो मार्गमा सूर्यले बिहानदेखि बेलुकीसम्मका फरक–फरक समयमा फरक–फरक ऊर्जाको फरक–फरक गुण उत्पन्न गर्छ र त्यसैअनुरूपका प्राणीमा प्रभाव पर्छ । बिरुवा, जनावर र मानिसहरू सूर्यका प्रकाशका विभिन्न गुणप्रति संवेदनशील हुन्छन् ।

वेदका अनुसार बिउ उम्रेर, हुर्केर, फुलेर, फलेर फेरि बिउ नै बन्ने क्रममा बिरुवाले विभिन्न आठ चरण (बिउ, टुसा उम्रेर सूर्यको स्पर्श गर्ने, तीनपाते, परिपक्व अवस्थामा पुग्ने, फूल्ने, फल्ने र फेरि बिउ पाक्ने) पार गरेको हुन्छ जसलाई अष्टप्रकृति भनिन्छ । विज्ञानका अनुसार बिरुवा हरेक एक चरणबाट अर्को चरणमा पुग्दा बिरुवामा सूक्ष्म तहमा गहन परिवर्तन भएको हुन्छ । हरेक कोषको डिएनएमा रहेको वंशाणुगत गुण बिरुवाको विकासको चरणअनुसार प्रस्फुटन हुँदै जान्छ । डिएनएमा हुने जिनहरू एकैपटक सक्रिय हुँदैनन् । वैदिकशास्त्रका अनुसार यसरी वंशाणुगत गुणहरूले प्रस्फुटन हुने वेला वेदका ध्वनिको तरंगका प्रभावले पूर्णरूपमा प्रस्फुटन हुने अवसर पाउँछन् र तिनले बिरुवाको वृध्दि र गुणस्तर दुवैमा प्रभाव पार्छन् । यसकारण, वैदिक कृषिमा यज्ञको महत्व दर्साइएको छ ।

अन्त्यमा
प्राविधिक हिसाबले सम्भव, वातावरणीय हिसाबबाट सुरक्षित तथा आर्थिक र सामाजिक दृष्टिबाट सबल कृषि नै दिगो कृषि हो । अहिलेको पुस्ता र आगामी पुस्ताका लागि खाद्य एवं पोषण सुरक्षा निश्चित गर्ने र जीविकोपार्जन सहज बनाउने कृषि नै दिगो कृषि हो । प्रांगारिक र रासायनिक खेतीमध्ये कुनचाहिँ विधि उपयुक्त छ भनेर सबैका आ–आफ्नै तर्क छन् । दिगो कृषिको मुख्य पक्ष भनेकै यसमा प्रयोग हुने स्रोतसाधन र उपयोग हो । दिगो कृषि तब मात्र दिगो हुन्छ, जब यसका लागि आवश्यक स्रोतसाधन तथा प्रविधि स्थानीय ज्ञान, सीप र प्रविधिमा आधारित हुन्छन् र स्थानीय उपयोगकर्ताले सहज तरिकाले उपयोग गर्न सक्ने अवस्था रहन्छ । समयअनुसारका प्रविधि उपयोग गरी हाम्रो आफ्नै परम्परामा आधारित ज्ञानको उपयोग नै उत्तम र दिगो देखिन्छ ।

(https://www.nayapatrikadaily.com/news-details/192346/2026-04-08)

वैदिक कृषि: स्वस्थ जीवन र समुन्नत समाजको आधार

महर्षि वैदिक कृषि: स्वस्थ जीवन र समुन्नत समाजको आधार

वैदिक कृषि केवल खेतीपातीको एक पद्धति मात्र होइन, यो प्रकृतिको संरक्षण र दीगो उपयोग मार्फत पोषणयुक्त र शुद्ध खाद्य पदार्थ उत्पादन गर्ने एक पवित्र साधना हो। यो माटो र प्रयावरणसँगको प्रेमपूर्ण संवाद हो। यसको परम लक्ष्य मानव स्वास्थ्यको सुरक्षा उच्चतम तहको चेतना प्राप्तिका लागि आवश्यक पर्ने सर्वोत्तम गुणस्तरको, हानीकारक रसायनमुक्त, शुद्ध र जीवन्त भोजन प्रदान गर्नु हो। यस्तो आहार जसले तनलाई निरोगी र ऊर्जावान्, मनलाई शान्त र स्थिर, अनि बुद्धि विवेकले प्रखर बनाउँछ! योग, ध्यान र सकारात्मक जीवनशैलीको अभ्याससँगै जब यस्तो सात्विक र पोषणले भरिपूर्ण भोजन हाम्रो दैनिक जीवनको अंग बन्छ, तब जीवन स्वयं एक उत्सव बन्न पुग्छ। यस्तो भोजनले मानवलाई शारीरिक दीर्घायु र आरोग्यता मात्र प्रदान गर्दैन, बरु उसको भित्री चेतनालाई जागृत गरी उसलाई शान्त, ज्ञानी र करुणाले भरिपूर्ण बनाउँछ। जब व्यक्ति यसरी शारीरिक, मानसिक र आत्मिक रूपमा स्वस्थ र सन्तुलित हुन्छ, ऊभित्रबाट निःस्वार्थ सेवाभाव र परोपकारको गंगा स्वतः प्रवाहित हुन थाल्छ। यस्तै प्रज्ञावान् र सकारात्मक ऊर्जाले ओतप्रोत नागरिकहरू नै आफ्नो परिवारको छहारी, समाजको ज्योति र राष्ट्रको गौरव बन्न पुग्छन्। उनीहरूले नै स्नेह, सद्भाव र विवेकपूर्ण मार्गदर्शनद्वारा एक आदर्श समाज र समुन्नत राष्ट्र निर्माणको जग बसाल्न सक्छन्। यसरी, महर्षि वैदिक कृषिले माटोको कणकणमा लुकेको जीवनदायिनी शक्तिलाई जगाउँदै, केवल उत्कृष्ट अन्न मात्र होइन, एक स्वस्थ, सचेत र नैतिकवान् मानव समाजको निर्माण गर्ने एक महान अभियान हो।  

वैदिक कृषि: स्वस्थ जीवन र समुन्नत समाजको आधार

वैदिक अर्गानिक खेती अन्य भन्दा फरक र जटिल विधि होईन। स्थानीय समुदायको आफ्नै परम्परागत ज्ञान र अभ्यासको पुनर्स्थापना र निरन्तरता नै वैदिक कृषि हो। यसकारण, वैदिक कृषि आधारभुत हिसाबले अर्गानिक नै हो। तर अर्गानिक भन्दा थप केही अभ्यास छन् जुन हाम्रै परम्परामा आधारित छन्। पहिलो, बिहान बेलुका नियमित भावातीत ध्यान, दोस्रो, वास्तुको अनुसारको भवन तथा अन्य संरचना, तेस्रो, वैदिक पात्रो अनुसार उपयुक्त मुहूर्तको उपयोग र चौथो अष्ट-प्रकृति यज्ञ। भावातीत ध्यानको नियमित अभ्यासले कृषक र कृषकको परिवारको गहीरो चेतनाको स्तर कायम गर्दछ र माटो, बाली र वातावरणसँग सञ्चार र सहकार्यमा सघाउँछ। भनिन्छ, कृषकको चेतनाको स्तरले खाद्य पदार्थको चेतना र गुणस्तर निर्धारण गर्दछ। खेती गर्ने जमिन, सिँचाई, भण्डारण, कृषक बस्ने घर, प्रशोधन गर्ने घर आदि निर्माण गर्दा वास्तु अनुसार गर्न, र कृषिकर्मका हरेक महत्वपूर्ण कार्यहरू, जस्तो विउ छर्दा, बेर्ना सार्दा, बाली भित्र्याउँदा मुहुर्त अनुसार गर्दा प्रकृति अनुकुल हुनेहुँदा कृषिकर्ममा चुनौतीको न्यूनिकरण गर्न सकिन्छ। हरेक बिरुवाले जीवन बिउबाट शुरु भएर बिउमै टुङ्गिने क्रममा बिभिन्न आठ चरणहरू पार गरेको हुन्छ जस्लाई अष्ठप्रकृति भनिन्छ। सोही चरण अनुसार गरिने यज्ञका वैदिक मन्त्रोच्चरणका तरङ्गहरूले बिरूवाको बृद्धि र गुणस्तरमा प्रभाव पार्दछ।

वैदिक कृषिको लक्ष्य भनेकै कृषक र बाली तथा वातावरणबीचको सन्चार, संवाद र सहकार्य स्थापित गर्नु हो, जसका कारण कृषकको कम मेहनत र थोरै लगानीमै प्रचुरमात्रामा गुणस्तरीय उत्पादन लिन सकियोस्। वैदिक कृषि, कृषक र वातावरणका बारे ऋग वेद, यजुर्वेद, कृषि पराशर, कृषि-गीता, भगवतगीता, वृक्षआयुर्वेद, वैदिक शुक्त सङ्ग्रह, काश्यपिय कृषिपद्धति आदि लगायत झण्डै २०० ग्रन्थहरू छन् भनिन्छ। यी फरक ग्रन्थहरूले कृषिका बारे माटोको प्रकार, वायू, मेघ, हलो, गोरू, वर्षा, विज, वर्षाको अनुमान, मुहुर्त, मन्त्र, बिरुवाको वृद्धि, खाद्य पदार्थको गुणस्तर, प्रभाव, वातावरण तथा सम्पदाको संरक्षण आदि बारे ब्याख्या गरेका छन्। कृषिसँग जोडिएका हाम्रा हरेक परम्पराहरू वैदिक र वैज्ञानिक हिसाबले पनि अभ्यास गर्न उपयोगी देखिन्छन्।

हामीकहाँ अहिले तीन तहका सरकार छन् र तिनै तहका सरकारसँग कृषि क्षेत्रका लागि बजेट छ। हानीकारक हो भन्ने जान्दाजान्दै पनि रासायनिक मल र बिषादीका लागि ठूलो धनराशी खर्च गर्नु भन्दा स्थानीय स्रोत र साधनमै आधारित आफ्नै मौलिक खेतीको प्रबर्धन गर्नु नै श्रेयस्कर छ र यसका लागि आम कृषकहरूलाई तालिम, प्रबिधि र जीवनशैली व्यवस्थापनका लागि सहयोग गर्न तिनै तहका सरकारहरू तत्पर रहने हो भने यो असम्भव छैन।

(थप जानकारीका लागिः भूपेन्द्र नीराजन, फोनः ९८५१०५०४२१, email: nirajanonly@gmail.com)

जीवामृत: बनाउने बिधि, प्रयोग र यसको महत्च

जीवामृत: बनाउने बिधि, प्रयोग र यसको महत्च

जीवामृत एउटा परम्परागत जैविक मल हो। यो मल गाईको ताजा गोबर, गाईको गहुँत, गुँड, चना अथवा मुंगको पिठो, रासायनिक मल प्रयोग नभएको कालो माटो (सके अझै वनको माटो) र पानीको मिश्रणबाट बनाइन्छ। बनाउन र प्रयोग गर्न सजिलो हुने, कम खर्चालु र प्रभावकारी हुने भएकोले प्राङ्गगारिक खेती गर्ने किसानहरुका लागि यो उपयुक्त मल हो।  

स्थानीय रूपमा उपलब्ध सामग्रीहरूको प्रयोगको कारण यो लागत प्रभावी छ र माटोको स्वास्थ्य र उत्पादन दुवैको लागि धेरै लाभदायक छ। यो विधि भारत सरकारद्वारा परीक्षण र मान्यता प्राप्त गरेको छ। यसलाई संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले पनि मान्यता दिएका छन्। यो मल पनि हो औषधी पनि हो।   

१५ रोपनी जमिनका लागि २०० लिटर जीवामृत तयारी:

  • गाईको ताजा गहुत –१० लिटर
  • गाईको ताजा गोबर – १० किलो
  • राशयानिकरहित र ढुङ्गाविहीन माटो – ३ किलो (वनको माटो)
  • कालो सखर – २ किलो
  • चना वा मुंगको पिठो– २ किलो

बनाउने बिधिः

  • सबैभन्दा पहिले गाईको गोबरलाई थोरै पानीमा मिसाएर छुट्टै राख्ने ।
  • त्यसपछि सखरलाई पानीमा मिसाएर राम्ररी खोल्ने।
  • त्यसपछि, सबै ५ वटा सामग्रीलाई २०० लिटरको ब्यारेलमा राखेर यसलाई राम्रोसँग लामो लौराको मद्दतले घडीको सही दिशा र बिपरित दिशामा पूर्ण रुपमा संमिश्रण गर्ने ।
  • यो मिश्रणलाई छाया भएको ठाउँमा बाक्लो रगले छोपेर राख्ने ।
  • हरेक दिन बिहान यसलाई ४–५ मिनेट चलाउने ।
  • ७ दिनपछि, यो पूर्ण रूपमा तयार हुनेछ र खेतीमा प्रयोगको लागि तयार हुनेछ ।

जीवामृतका केही परीक्षित लाभहरू

  • जीवामृत प्राकृतिक कार्बन, बायोमास, नाइट्रोजन, पोटासियम र फस्फोरसको समृद्ध स्रोत हो। यसले बाली र बिरुवाको वृद्धि र विकासको लागि आवश्यक सूक्ष्म पोषक तत्वहरु प्रदान गर्दछ ।
  • यो पूर्णतया अर्गानिक हो र यसले बाली र बोटबिरुवामा कीरा र रोगहरू लाग्नबाट पनि रोक्छ ।  
  • यसले माटोको गुणस्तर कायम राख्न मद्दत गर्दछ, बोटविरुवालाई चाहिने लाभकारी ब्याक्टेरियाको संख्या बढाउछ ।
  • रासायानिक खेती विधिको तुलनामा यसले १० प्रतिशत मात्रै पानी खपत गर्छ । 
  • यो औषधीय मलमा प्रयोग हुने कच्चा पदार्थ सामान्यतया ग्रामीण क्षेत्र र खेतबारीमा उपलब्ध छ।  
  • यो विधि ३देखि ४ वर्षसम्म प्रयोग गर्नाले कृषिमा आत्मनिर्भर मोडेल बनाउन मद्दत गर्नेछ र बाह्य लगानीहरुमा कम गर्न सकिन्छ।

कसरी प्रयोग गर्ने?

  • स्प्रेको रूपमा वा सिधै पानीको सिंचाईमा जडान गरेर गर्न सकिन्छ।
  • एक एकड जमिनका लागि २०० लिटर जीवामृत आवश्यक पर्छ ।
  • राम्रो नतिजाको लागि प्रत्येक ४–५ दिनको अन्तरालमा स्प्रे वा सिंचाई गर्नु राम्रो देखिन्छ।  

जीवामृतले नाइट्रोजनलाई फिक्स गर्ने र फस्फोरसलाई घुलनशील बनाउने सूक्ष्मजीवको समृद्ध स्रोतको रूपमा काम गर्दछ र यो कार्बन, नाइट्रोजन, फस्फोरस, पोटासियम र धेरै सूक्ष्म पोषक  तत्त्वहरू पनि समृद्ध स्रोत हो ।