Blog

वैदिक कृषिमा ज्ञानको स्रोत र अभ्यास

NEPCERT July 28, 2026

वैदिक कृषिमा ज्ञानको स्रोत र अभ्यास

जब अन्न, मन र आयुको अर्थ बुझिन्छ, माटोको गन्ध झन् सुगन्धित लाग्न थाल्छ र कृषि पेसा धर्म बन्न पुग्छ । कृषक मातापिता लाग्छन् । कृषकका दुःख आफ्नैजस्तो महसुस हुन्छ । खानुको विकल्प छैन । यसकारण, कृषिको पनि विकल्प छैन । जुन देशमा कृषक पीडित हुन्छन् वा कृषकले असल कर्म छोड्छन्, त्यो देशका नागरिक सुखी र देश शान्त हुनै सक्दैन । फेरि पनि, कृषि नै सबथोकको समाधान त होइन । तर, देशको समग्र विकास र समृद्धिको मेरुदण्डचाहिँ अवश्य नै कृषि हो ।

धरतीमा मानिस र जीवजन्तुका जनसंख्या निरन्तर बढ्छ, तर उब्जने जमिन सीमित छ र समयक्रममा यो घट्दै जान्छ । जनसंख्याको चाप र औद्योगिकीकरणका कारण उब्जनीयोग्य जमिन र जंगल दुवै मासिँदो स्थितिमा छन् । हामीलाई थोरै जमिनमा थोरै खर्चले धेरै उत्पादन गरेर टन्नै कमाउनु छ । रासायनिक खेती प्रणाली यसैको उपज हो । नाफाकेन्द्रित कृषि प्रणालीका रूपमा विकसित भएको प्रणाली । उच्च आर्थिक लाभको अपेक्षा हुने भएकाले आधुनिक प्रविधि, हाइब्रिड (ठिमाहा) बिउ, कृत्रिम रासायनिक मल, हानिकारक कीटनाशक र झार–नाशकमा निर्भर हुँदै गएको छ हाम्रो कृषिकर्म । रासायनिक कृषिको लक्ष्य भनेकै उत्पादन लागत घटाउने र उपज बढाउने मात्र हो । धेरै अध्ययनले यसप्रकारका रासायनिक प्रयोगले स्वास्थ्यमा गम्भीर जोखिम र वातावरणीय विनाश गर्ने दुष्परिणाम देखाएका छन् । प्रांगारिक खेतीप्रति आकर्षण बढ्दै जानुको मुख्य कारण पनि यही हो । उत्पादन, खाद्य सुरक्षा र भोकमरीको समाधानका लागि रासायनिक खेती मात्रै विकल्प हो भनी बहस गर्नेहरूको पनि संख्या कम छैन । तर, प्रांगारिक खेतीमा आबद्ध उत्पादक तथा प्रशोधनकर्ता भने यो तर्क स्विकार्न बिल्कुलै तयार छैनन् ।

प्रांगारिक खेती
प्रांगारिक खेती प्रणालीमा बिउ रोपिएको दिनदेखि उपभोगका लागि तयार उत्पादन भान्सामा पुग्दासम्म खाद्य वस्तु अशुद्ध वा मिसावट नहोस् भनेर प्रयत्न गरिन्छ । यस विधिले जीवजन्तु, वातावरण र स्थानीय स्रोतको दिगो प्रयोग र संरक्षणमा जोड दिन्छ । माटो तथा वातावरणलाई प्रदूषण हुनबाट जोगाउँछ । जैविकता र पर्यावरणको सम्मान गर्छ । परम्परागत ज्ञान तथा स्थानीय स्रोतको समावेशितामा जोड दिन्छ । स्थानीय स्रोत र साधनको दिगो उपयोगबाट माटोको स्वास्थ्य, उत्पादकत्व, रोग, किरा तथा झारपात नियन्त्रण गरिन्छ । समग्रमा कुनै नकारात्मक पक्ष छैन । यो कृषि प्रणालीले आजको मात्र नभई भोलिको पनि सोच गर्छ ।

वैदिक विधि 
वैदिक खेती पनि प्रांगारिक खेती नै हो, तर यसमा प्रांगारिक विधिका सबै अभ्यासका अतिरिक्त वैदिक परम्पराअनुसारका थप केही प्रविधिको पनि प्रयोग गरिन्छ । वैदिक खेतीका नाममा पनि खासगरी नेपाल र भारतमा विभिन्न प्रकारका खेती विधि अभ्यासमा रहेका छन् । उदाहरणका लागि, बायोडायनामिक खेती (ग्रहनक्षत्रसँग समायोजनमा आधारित), मन्त्रमा आधारित खेती (ध्वनि कम्पनद्वारा बाली वृद्धि गरिने), पञ्चगव्य र वनस्पतिको तयारी (प्राकृतिक मल/कीटनाशक), यज्ञ (मन्त्रद्वारा वातावरण शुद्धीकरण), होम खेती (मन्त्रसहित अग्निको प्रयोग गरिने), ऋषि–कृषि (वैज्ञानिक ऊर्जालाई मलका रूपमा प्रयोग गरिने), महर्षि वैदिक कृषि (चेतनामा आधारित कृषि) आदि । कतिपय अभ्यासमा एकभन्दा बढी विधिको संयोजन गरेर प्रयोग गरिन्छ । यी सबै विधिका आ–आफ्नै खालका विशेषता छन् । महर्षि वैदिक कृषि यी सबैभन्दा अलिक भिन्न छ ।

ज्ञानको स्रोत
वैदिक कृषिबारे बोल्ने थुप्रै प्रकाशित ग्रन्थ उपलब्ध छन् । हजारौँ वर्ष पहिले नै रचिएका हाम्रा वैदिक ग्रन्थमा खेती प्रणालीबारे भरपुर ज्ञान लुकेका छन् । यस्ता ग्रन्थहरूमा प्राविधिक ज्ञानका अतिरिक्त ब्रह्माण्डीय ऊर्जा र परिश्रमको गहिरो सम्बन्ध र सन्तुलनबारे उल्लेख छ । यसलाई आजको भाषामा भन्नुपर्दा दिगो कृषिको अवधारणा भने हुन्छ । प्रायजसो प्राचीन ग्रन्थहरूमा कृषि, पशुपालन, जनावर, वनस्पति र पर्यावरणबारे चर्चा छ । विज्ञानका दृष्टिकोणमा प्रमाणित हुन बाँकी होलान् । तर, अहिले पनि अभ्यासमा भने छन् । यसबारे वैज्ञानिक अनुसन्धान पनि नभएका होइनन् । भएका छन् । भलै अनुसन्धानमा महत्वपूर्ण मानिने नमुना तथा तथ्यांक संकलन र अध्ययन विधिबारे विमति राख्ने ठाउँ हुन सक्छन् ।

वैदिक शास्त्रहरूमा कृषक र कृषिकर्मलाई उच्च र महत्वपूर्ण स्थान दिइएको छ । खासगरी ऋग्वेद, अथर्ववेद, कृषि पराशर, महाभारत, कश्यपीय कृषिजस्ता ग्रन्थले कृषि र कृषकको महत्व, भूमिका, राज्यको दायित्व, कृषकका लागि सरकारको जिम्मेवारी आदिबारे रोचक व्याख्या गरेका छन् । यी सबै ग्रन्थमा कृषिलाई पेसाभन्दा धर्म र कृषकलाई व्यवसायीभन्दा प्राणरक्षक, कामदारभन्दा समाजका विज्ञका रूपमा चित्रित गरिएको छ । कृषकलाई सम्पूर्ण सृष्टिको पालनपोषण गर्ने अन्नदाता वा प्रजापतिका रूपमा सम्मान गरिएको छ । सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेदमा कृषकलाई कर्मयोगीका रूपमा चित्रण गरिएको छ । अथर्ववेदमा कृषकलाई भूमिपुत्र मानिएको छ । महाभारतको शान्ति पर्वका अनुसार राजा पृथुले भूमिलाई सम्याएर खेतीयोग्य बनाएका थिए । यसकारण उनलाई पहिलो कृषक र उनकै नामबाट पृथ्वीको नाम रहेको मानिन्छ । तैत्तिरियोपनिषद् नामको उपनिषद्का अनुसार कृषक एक व्रत (संकल्प) लिने तपस्वी हुन् ।

वैदिक प्रविधि
वैदिक कृषिका अनुसार उच्च चेतनाको सुनिश्चितताका लागि नियमित ध्यान, सम्भावित चुनौतीको न्यूनीकरणका लागि मुहूर्त, प्रकृतिको भरपुर समर्थनका लागि वास्तुअनुसारका घर र बालीको वृद्धिसँगै कृषि यज्ञ, यी चार वैदिक अभ्यासले कृषि कर्म, उत्पादन र गुणस्तरमा प्रभाव पर्छ । कृषकको पिर, चिन्ता तथा पीडारहित मन, मस्तिष्क र बुध्दिको उन्नत प्रभावले बालिनालीसमेत सकारात्मक, पोषणयुक्त, शक्तिवर्द्धकका रूपमा वृद्धि हुन्छन् । यसकारण नियमित ध्यान आवश्यक मानिन्छ । कृषिकर्म गर्दा पञ्चांग पात्रोअनुसार साइत हेरेर गर्ने हाम्रो सनातन परम्परा नै हो । हलगोरुले जोत्दा, बिउ राख्दा, दाइँ हाल्दा, नयाँ बाली भित्र्याउँदा, भकारीबाट अन्न झिक्दा आदि कर्ममा पात्रोअनुसार शुभ मुहूर्त हेरेर मात्रै कार्य गर्ने चलन अहिले पनि छ । वैदिक दृष्टिकोणमा प्रत्येक क्रियाको फल केवल कर्ममा मात्र होइन, कालमा पनि निर्भर हुन्छ । जस्तो उचित मुहूर्तमा बिउ रोप्दा बिउ उम्रने र हुर्कने प्रक्रियाले प्राकृतिक समर्थन प्राप्त गर्छ र फलस्वरूप, अंकुरण, वृद्धि, उत्पादन र पोषणतत्वसमेतमा सकारात्मक प्रभाव पर्छ । यसकारण तिथि, वार, नक्षत्र, योग, करण र ग्रहहरूको चाललाई ध्यानमा राखेर मुहूर्तको निर्धारण गरिन्छ । कृषि चेतनशील प्रक्रिया भएकाले प्रकृतिको लयसँग तालमेल मिलाएर काम गर्दा, माटो, बिउ र जल सबैले सहयोग गर्छन् । वर्षा, तापक्रम र माटोको ऊर्जा प्रवाहसँग समन्वय गर्न मद्दत गर्छ । सम्भावित बाधाहरूलाई टार्न सहयोग पुर्‍याउँछ । 

स्थापत्य वेद (वास्तु)का अनुसार पृथ्वीमा प्राकृतिक नियमको सबैभन्दा बलियो प्रभाव सूर्यबाट आउँछ । पूर्वदेखि पश्चिमसम्मको आफ्नो मार्गमा सूर्यले बिहानदेखि बेलुकीसम्मका फरक–फरक समयमा फरक–फरक ऊर्जाको फरक–फरक गुण उत्पन्न गर्छ र त्यसैअनुरूपका प्राणीमा प्रभाव पर्छ । बिरुवा, जनावर र मानिसहरू सूर्यका प्रकाशका विभिन्न गुणप्रति संवेदनशील हुन्छन् ।

वेदका अनुसार बिउ उम्रेर, हुर्केर, फुलेर, फलेर फेरि बिउ नै बन्ने क्रममा बिरुवाले विभिन्न आठ चरण (बिउ, टुसा उम्रेर सूर्यको स्पर्श गर्ने, तीनपाते, परिपक्व अवस्थामा पुग्ने, फूल्ने, फल्ने र फेरि बिउ पाक्ने) पार गरेको हुन्छ जसलाई अष्टप्रकृति भनिन्छ । विज्ञानका अनुसार बिरुवा हरेक एक चरणबाट अर्को चरणमा पुग्दा बिरुवामा सूक्ष्म तहमा गहन परिवर्तन भएको हुन्छ । हरेक कोषको डिएनएमा रहेको वंशाणुगत गुण बिरुवाको विकासको चरणअनुसार प्रस्फुटन हुँदै जान्छ । डिएनएमा हुने जिनहरू एकैपटक सक्रिय हुँदैनन् । वैदिकशास्त्रका अनुसार यसरी वंशाणुगत गुणहरूले प्रस्फुटन हुने वेला वेदका ध्वनिको तरंगका प्रभावले पूर्णरूपमा प्रस्फुटन हुने अवसर पाउँछन् र तिनले बिरुवाको वृध्दि र गुणस्तर दुवैमा प्रभाव पार्छन् । यसकारण, वैदिक कृषिमा यज्ञको महत्व दर्साइएको छ ।

अन्त्यमा
प्राविधिक हिसाबले सम्भव, वातावरणीय हिसाबबाट सुरक्षित तथा आर्थिक र सामाजिक दृष्टिबाट सबल कृषि नै दिगो कृषि हो । अहिलेको पुस्ता र आगामी पुस्ताका लागि खाद्य एवं पोषण सुरक्षा निश्चित गर्ने र जीविकोपार्जन सहज बनाउने कृषि नै दिगो कृषि हो । प्रांगारिक र रासायनिक खेतीमध्ये कुनचाहिँ विधि उपयुक्त छ भनेर सबैका आ–आफ्नै तर्क छन् । दिगो कृषिको मुख्य पक्ष भनेकै यसमा प्रयोग हुने स्रोतसाधन र उपयोग हो । दिगो कृषि तब मात्र दिगो हुन्छ, जब यसका लागि आवश्यक स्रोतसाधन तथा प्रविधि स्थानीय ज्ञान, सीप र प्रविधिमा आधारित हुन्छन् र स्थानीय उपयोगकर्ताले सहज तरिकाले उपयोग गर्न सक्ने अवस्था रहन्छ । समयअनुसारका प्रविधि उपयोग गरी हाम्रो आफ्नै परम्परामा आधारित ज्ञानको उपयोग नै उत्तम र दिगो देखिन्छ ।

(https://www.nayapatrikadaily.com/news-details/192346/2026-04-08)

NEPCERT