जीवामृत: बनाउने बिधि, प्रयोग र यसको महत्च
जीवामृत एउटा परम्परागत जैविक मल हो। यो मल गाईको ताजा गोबर, गाईको गहुँत, गुँड, चना अथवा मुंगको पिठो, रासायनिक मल प्रयोग नभएको कालो माटो (सके अझै वनको माटो) र पानीको मिश्रणबाट बनाइन्छ। बनाउन र प्रयोग गर्न सजिलो हुने, कम खर्चालु र प्रभावकारी हुने भएकोले प्राङ्गगारिक खेती गर्ने किसानहरुका लागि यो उपयुक्त मल हो।
स्थानीय रूपमा उपलब्ध सामग्रीहरूको प्रयोगको कारण यो लागत प्रभावी छ र माटोको स्वास्थ्य र उत्पादन दुवैको लागि धेरै लाभदायक छ। यो विधि भारत सरकारद्वारा परीक्षण र मान्यता प्राप्त गरेको छ। यसलाई संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले पनि मान्यता दिएका छन्। यो मल पनि हो औषधी पनि हो।
१५ रोपनी जमिनका लागि २०० लिटर जीवामृत तयारी:
- गाईको ताजा गहुत –१० लिटर
- गाईको ताजा गोबर – १० किलो
- राशयानिकरहित र ढुङ्गाविहीन माटो – ३ किलो (वनको माटो)
- कालो सखर – २ किलो
- चना वा मुंगको पिठो– २ किलो
बनाउने बिधिः
- सबैभन्दा पहिले गाईको गोबरलाई थोरै पानीमा मिसाएर छुट्टै राख्ने ।
- त्यसपछि सखरलाई पानीमा मिसाएर राम्ररी खोल्ने।
- त्यसपछि, सबै ५ वटा सामग्रीलाई २०० लिटरको ब्यारेलमा राखेर यसलाई राम्रोसँग लामो लौराको मद्दतले घडीको सही दिशा र बिपरित दिशामा पूर्ण रुपमा संमिश्रण गर्ने ।
- यो मिश्रणलाई छाया भएको ठाउँमा बाक्लो रगले छोपेर राख्ने ।
- हरेक दिन बिहान यसलाई ४–५ मिनेट चलाउने ।
- ७ दिनपछि, यो पूर्ण रूपमा तयार हुनेछ र खेतीमा प्रयोगको लागि तयार हुनेछ ।
जीवामृतका केही परीक्षित लाभहरू
- जीवामृत प्राकृतिक कार्बन, बायोमास, नाइट्रोजन, पोटासियम र फस्फोरसको समृद्ध स्रोत हो। यसले बाली र बिरुवाको वृद्धि र विकासको लागि आवश्यक सूक्ष्म पोषक तत्वहरु प्रदान गर्दछ ।
- यो पूर्णतया अर्गानिक हो र यसले बाली र बोटबिरुवामा कीरा र रोगहरू लाग्नबाट पनि रोक्छ ।
- यसले माटोको गुणस्तर कायम राख्न मद्दत गर्दछ, बोटविरुवालाई चाहिने लाभकारी ब्याक्टेरियाको संख्या बढाउछ ।
- रासायानिक खेती विधिको तुलनामा यसले १० प्रतिशत मात्रै पानी खपत गर्छ ।
- यो औषधीय मलमा प्रयोग हुने कच्चा पदार्थ सामान्यतया ग्रामीण क्षेत्र र खेतबारीमा उपलब्ध छ।
- यो विधि ३देखि ४ वर्षसम्म प्रयोग गर्नाले कृषिमा आत्मनिर्भर मोडेल बनाउन मद्दत गर्नेछ र बाह्य लगानीहरुमा कम गर्न सकिन्छ।
कसरी प्रयोग गर्ने?
- स्प्रेको रूपमा वा सिधै पानीको सिंचाईमा जडान गरेर गर्न सकिन्छ।
- एक एकड जमिनका लागि २०० लिटर जीवामृत आवश्यक पर्छ ।
- राम्रो नतिजाको लागि प्रत्येक ४–५ दिनको अन्तरालमा स्प्रे वा सिंचाई गर्नु राम्रो देखिन्छ।
जीवामृतले नाइट्रोजनलाई फिक्स गर्ने र फस्फोरसलाई घुलनशील बनाउने सूक्ष्मजीवको समृद्ध स्रोतको रूपमा काम गर्दछ र यो कार्बन, नाइट्रोजन, फस्फोरस, पोटासियम र धेरै सूक्ष्म पोषक तत्त्वहरू पनि समृद्ध स्रोत हो ।