Blog

वैदिक कृषि: स्वस्थ जीवन र समुन्नत समाजको आधार

NEPCERT July 27, 2026

महर्षि वैदिक कृषि: स्वस्थ जीवन र समुन्नत समाजको आधार

वैदिक कृषि केवल खेतीपातीको एक पद्धति मात्र होइन, यो प्रकृतिको संरक्षण र दीगो उपयोग मार्फत पोषणयुक्त र शुद्ध खाद्य पदार्थ उत्पादन गर्ने एक पवित्र साधना हो। यो माटो र प्रयावरणसँगको प्रेमपूर्ण संवाद हो। यसको परम लक्ष्य मानव स्वास्थ्यको सुरक्षा उच्चतम तहको चेतना प्राप्तिका लागि आवश्यक पर्ने सर्वोत्तम गुणस्तरको, हानीकारक रसायनमुक्त, शुद्ध र जीवन्त भोजन प्रदान गर्नु हो। यस्तो आहार जसले तनलाई निरोगी र ऊर्जावान्, मनलाई शान्त र स्थिर, अनि बुद्धि विवेकले प्रखर बनाउँछ! योग, ध्यान र सकारात्मक जीवनशैलीको अभ्याससँगै जब यस्तो सात्विक र पोषणले भरिपूर्ण भोजन हाम्रो दैनिक जीवनको अंग बन्छ, तब जीवन स्वयं एक उत्सव बन्न पुग्छ। यस्तो भोजनले मानवलाई शारीरिक दीर्घायु र आरोग्यता मात्र प्रदान गर्दैन, बरु उसको भित्री चेतनालाई जागृत गरी उसलाई शान्त, ज्ञानी र करुणाले भरिपूर्ण बनाउँछ। जब व्यक्ति यसरी शारीरिक, मानसिक र आत्मिक रूपमा स्वस्थ र सन्तुलित हुन्छ, ऊभित्रबाट निःस्वार्थ सेवाभाव र परोपकारको गंगा स्वतः प्रवाहित हुन थाल्छ। यस्तै प्रज्ञावान् र सकारात्मक ऊर्जाले ओतप्रोत नागरिकहरू नै आफ्नो परिवारको छहारी, समाजको ज्योति र राष्ट्रको गौरव बन्न पुग्छन्। उनीहरूले नै स्नेह, सद्भाव र विवेकपूर्ण मार्गदर्शनद्वारा एक आदर्श समाज र समुन्नत राष्ट्र निर्माणको जग बसाल्न सक्छन्। यसरी, महर्षि वैदिक कृषिले माटोको कणकणमा लुकेको जीवनदायिनी शक्तिलाई जगाउँदै, केवल उत्कृष्ट अन्न मात्र होइन, एक स्वस्थ, सचेत र नैतिकवान् मानव समाजको निर्माण गर्ने एक महान अभियान हो।  

वैदिक कृषि: स्वस्थ जीवन र समुन्नत समाजको आधार

वैदिक अर्गानिक खेती अन्य भन्दा फरक र जटिल विधि होईन। स्थानीय समुदायको आफ्नै परम्परागत ज्ञान र अभ्यासको पुनर्स्थापना र निरन्तरता नै वैदिक कृषि हो। यसकारण, वैदिक कृषि आधारभुत हिसाबले अर्गानिक नै हो। तर अर्गानिक भन्दा थप केही अभ्यास छन् जुन हाम्रै परम्परामा आधारित छन्। पहिलो, बिहान बेलुका नियमित भावातीत ध्यान, दोस्रो, वास्तुको अनुसारको भवन तथा अन्य संरचना, तेस्रो, वैदिक पात्रो अनुसार उपयुक्त मुहूर्तको उपयोग र चौथो अष्ट-प्रकृति यज्ञ। भावातीत ध्यानको नियमित अभ्यासले कृषक र कृषकको परिवारको गहीरो चेतनाको स्तर कायम गर्दछ र माटो, बाली र वातावरणसँग सञ्चार र सहकार्यमा सघाउँछ। भनिन्छ, कृषकको चेतनाको स्तरले खाद्य पदार्थको चेतना र गुणस्तर निर्धारण गर्दछ। खेती गर्ने जमिन, सिँचाई, भण्डारण, कृषक बस्ने घर, प्रशोधन गर्ने घर आदि निर्माण गर्दा वास्तु अनुसार गर्न, र कृषिकर्मका हरेक महत्वपूर्ण कार्यहरू, जस्तो विउ छर्दा, बेर्ना सार्दा, बाली भित्र्याउँदा मुहुर्त अनुसार गर्दा प्रकृति अनुकुल हुनेहुँदा कृषिकर्ममा चुनौतीको न्यूनिकरण गर्न सकिन्छ। हरेक बिरुवाले जीवन बिउबाट शुरु भएर बिउमै टुङ्गिने क्रममा बिभिन्न आठ चरणहरू पार गरेको हुन्छ जस्लाई अष्ठप्रकृति भनिन्छ। सोही चरण अनुसार गरिने यज्ञका वैदिक मन्त्रोच्चरणका तरङ्गहरूले बिरूवाको बृद्धि र गुणस्तरमा प्रभाव पार्दछ।

वैदिक कृषिको लक्ष्य भनेकै कृषक र बाली तथा वातावरणबीचको सन्चार, संवाद र सहकार्य स्थापित गर्नु हो, जसका कारण कृषकको कम मेहनत र थोरै लगानीमै प्रचुरमात्रामा गुणस्तरीय उत्पादन लिन सकियोस्। वैदिक कृषि, कृषक र वातावरणका बारे ऋग वेद, यजुर्वेद, कृषि पराशर, कृषि-गीता, भगवतगीता, वृक्षआयुर्वेद, वैदिक शुक्त सङ्ग्रह, काश्यपिय कृषिपद्धति आदि लगायत झण्डै २०० ग्रन्थहरू छन् भनिन्छ। यी फरक ग्रन्थहरूले कृषिका बारे माटोको प्रकार, वायू, मेघ, हलो, गोरू, वर्षा, विज, वर्षाको अनुमान, मुहुर्त, मन्त्र, बिरुवाको वृद्धि, खाद्य पदार्थको गुणस्तर, प्रभाव, वातावरण तथा सम्पदाको संरक्षण आदि बारे ब्याख्या गरेका छन्। कृषिसँग जोडिएका हाम्रा हरेक परम्पराहरू वैदिक र वैज्ञानिक हिसाबले पनि अभ्यास गर्न उपयोगी देखिन्छन्।

हामीकहाँ अहिले तीन तहका सरकार छन् र तिनै तहका सरकारसँग कृषि क्षेत्रका लागि बजेट छ। हानीकारक हो भन्ने जान्दाजान्दै पनि रासायनिक मल र बिषादीका लागि ठूलो धनराशी खर्च गर्नु भन्दा स्थानीय स्रोत र साधनमै आधारित आफ्नै मौलिक खेतीको प्रबर्धन गर्नु नै श्रेयस्कर छ र यसका लागि आम कृषकहरूलाई तालिम, प्रबिधि र जीवनशैली व्यवस्थापनका लागि सहयोग गर्न तिनै तहका सरकारहरू तत्पर रहने हो भने यो असम्भव छैन।

(थप जानकारीका लागिः भूपेन्द्र नीराजन, फोनः ९८५१०५०४२१, email: nirajanonly@gmail.com)

NEPCERT